भारत– भारत उत्तर प्रदेशको कासगञ्ज जिल्लामा तीर्थयात्री बोकेको ट्र्याक्टर पोखरीमा खस्दा २४ जनाको ज्यान गएको छ।
दुर्घटनामा परी २० जनाभन्दा बढी व्यक्ति घाइते भएको समाचार द न्यू इन्डियन एक्सप्रेसले प्रकाशन गरेको छ। ट्याक्टरमा झन्डै ५० जना मानिस रहेको बताइएको छ।
उत्तर प्रदेशको जयथारा गाउँबाट गङ्गा नदीमा स्नान गर्न जाने तीर्थयात्री बोकेको ट्र्याक्टर गढाई गाउँ नजिकै पोखरीमा खसेको थियो। ज्यान गुमाउनेमा महिला र बालबालिकाको संख्या उल्लेख्य छ।
घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र पोखरीमा फसेकाहरूलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।
तीव्र गतिमा रहेको ट्र्याक्टरकाे ट्रली इन्जिनबाट अलग भएर पोखरीमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन्। प्रहरीले पनि दुर्घटनाको मुख्य कारण तीव्र गति नै रहेको उल्लेख गरेको छ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ज्यान गुमाएकाका परिवारलाई २ लाख र घाइतेहरूलाई ५० हजार भारु राहत दिने घोषणा गरेका छन्।


