काठमाडौँ- आजदेखि देशभर दादुरा–बेलाविरुद्धको खोप अभियान सुरु भएको छ। अनुसार दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७ गतेसम्म सन्चालन हुने छ।
दादुरा–रुबेला खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई यो खोप लगाइने छ। तराई मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने छ। बाँकी जिल्लाहरुमा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ।
यसअघि सन् २०१८ मा दादुरा रोग नियन्त्रणमा आएको बताइए पनि सन् २०२३ मा यसले धेरै जिल्लाहरुमा प्रकोपको रुप लिएपछि सरकारले फेरि खोप अभियान चलाएको हो। अब सन् २०२६ भित्र दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य सरकारले राखेको छ।
खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ५७ लाख ८२ हजार ९९३ बालबालिकालाई यसपटक दादुरा र रुबेलाको खोप लगाइने छ। यो खोप नेपालभरका ४८ हजार ७९८ केन्द्रबाट लगाइने छ। नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई यो अभियानमा समेट्ने लक्ष्य राखिएको छ।


