काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष जोहन एक्विलिनोले शिष्टाचार भेट गरेका छन्।
उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार अपराह्न भेट भएको हो। भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयको भनाइ छ।
एक्विलिनोसँग प्रधानमन्त्री दाहालले नेपाल–अमेरिका सम्बन्धलाई आफूले उच्च महत्व दिँदै आएको सुनाएका थिए। उनले नेपालको आर्थिक विकासका निम्ति अमेरिकाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको भन्दै त्यसप्रति कृतज्ञता व्यक्त गरे।
नौसेनाध्यक्ष एक्विलिनोले विश्व शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा विभिन्न शान्ति ‘मिसन’मा नेपालले सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेकामा बधाई ज्ञापन गरे।
शान्ति सेनामार्फत नेपालले निर्वाह गरेको भूमिकाको प्रशांसा पनि उनले गरेको प्रधानमन्त्री कार्यालयको भनाइ छ।
नौसेनाध्यक्ष एक्विलिनो यही फागुन ८ देखि सुरु भएको ‘अभ्यास शान्ति प्रसास–४’ अवलोकनका लागि नेपाल आएका हुन्।
भेटका अवसरमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटा, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सन र परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो।


