काठमाडौँ- प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ। काउन्सिलले आज १ विज्ञप्ति जारी गरी समाचार हुबहु चोरी गरी सार्ने (कपी एण्ड पेस्ट गर्ने), अनुमति नलिने १८३ अनलाइन सञ्चारमाध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो।
कारबाहीमा परेकामध्ये १४३ सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ। स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियो। मिडियाका रुपमा दर्ता÷सूचीकरण नभएका २९ वेबपोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ। काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
आज प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकसमेत बसेको थियो। बैठकले हुबहु प्रवृत्ति निरुत्साहित गर्न थप कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ। आगामी दिनमा बिनाअनुमति हुबहु प्रकाशन नगर्न नगराउन ध्यानाकर्षण गराउने र पुनःत्यस्तो प्रवृत्ति पुनरावृत्ति भएको उजुरी तथा गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा आचारसंहिताबमोजिम थप कारबाही हुनेतर्फ सचेत गराउने निर्णय गरिएको हो।
‘एकलाई भुलसुधार गर्न र एकलाई खण्डन प्रकाशन गर्न निर्देशन दिने र एक सञ्चारमाध्यमको जवाफ चित्तबुझ्दो नदेखिएकोप्रति सम्पादकलाई छलफलमा बोलाउने निर्णय गरेको छ’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।


