काठमाडौँ- आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत गरेको छ। जस अनुसार २०८० फागुन २८ गते आयोगको वेबसाइट https://election.gov.np/ मा मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।
मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्टा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन यही फागुन २९ गतेदेखि चैत्र ५ गतेसम्मको अवधि निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार अनलाइन https://applyvr.election.gov.np वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिने छ।
यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानुन बमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिने छ। अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली मिति चैत्र २२ गते प्रकाशन गरिने कार्यक्रम रहेको छ।
निर्वाचनमा उम्मेदवारी दर्ता गर्न र मतदान गर्न मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानुनी व्यवस्था भएको हुँदा आफ्नो मतदाता विवरणमा रहेका त्रुटि सच्याउने लगायतका उल्लेखित कार्यक्रममा सहभागी हुन आयोगले आह्वान समेत गरेको छ।
साथै त्रुटिरहित र अद्यावधिक मतदाता नामावली स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको मूल आधार भएकोले उल्लिखित कार्यक्रममा प्रचारप्रसार, समन्वय, सहयोग र सहकार्यका लागि राजनीतिक दल, सञ्चार माध्यम एवम् सरोकारवाला सबैमा आयोगको आग्रह छ।


