आठराई– तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले एक मेलाको उद्घाटन कार्यक्रम गर्न गाउँपालिकामा सार्वजनिक बिदा दिने भएको छ।
फागुन १८ गते आठराई गाउँपालिका वडा नम्बर २ मा पर्ने झाँक्री गुफामा मेलाको उद्घाटन गर्न लागिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाले जानकारी दिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निराज शर्माले स्थानीय बिदा दिने निर्णय भएको सूचनामार्फत् जानकारी दिएका छन्।
‘यही मिति २०८०/११/१८ गतेका दिन आठराई गाउँपालिका वडा नं.२ स्थित झाँक्री गुफा क्षेत्रमा “दोस्रो अध्यक्ष रनिङ्ग कप २०८० को समुद्घाटन कार्यक्रम हुने भएकोले यस अवसरमा आठराई गाउँपालिका मातहतका सरकारी कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा मिति २०८०/११/१८ गते १ (एक) दिन स्थानीय बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा लेखिएको छ।

फाल्गुन २५ गतेसम्म चल्ने मेलामा फागुन २४ गते साँस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने बताइएको छ। मेलामा खुल्ला पुरूष तथा महिला रनिङ कप फुटबल, खुल्ला पालिकास्तरीय पुरूष भलिबल खेलका कार्यक्रम निर्धारण गरिएको छ।
फागुन २४ गतेको कार्यक्रममा गायक सुगम पोख्रेल, गायिका एलिना चौहान, बालगायिका रुक्सना लिम्बू र मोडेल तथा हास्य कलाकार पुष्पाञ्जलि तिलिङ लिम्बू (चाप्पेतिको आमा)का प्रस्तुति रहने बताइएको छ।
उद्घाटनका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएकोप्रति व्यंग्य कस्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले बरु मेला अवधिभर नै सार्वजनिक बिदा दिनु उचित हुने बताएका छन्।


