काठमाडौँ- बुधबार साँझ काठमाडौंको सुन्धारा क्षेत्रका फुटपाथ व्यवसायीमाथि निर्घात कुटपिट गरेको काठमाडौं महानगर प्रहरीले प्रतिरक्षा मात्र गरिएको जिकिर गरेको छ।
महिलामाथि निर्मम भएर लाठी बजारेको भिडियो सार्वजनिक भएपनि महानगरले भने आफूहरूले बल प्रयोग नगरेको जिकिर गरेको हो।
फुटपाथका व्यवसायीलाई महानगर प्रहरीले निर्घात लाठी हानेपछि व्यापारीले प्रतिकार गरेका थिए। यसपछि प्रहरी बलसँगको झडपमा भएको थियो। महानगरका प्रहरीको कुटाइबाट थुप्रै व्यवसायी घाइते भएका छन्।
सुन्धारा क्षेत्रमा सडक व्यापार गर्दै आएका अर्जुन भट्टराईले एकाएक आतंक पार्ने गरी आफूहरुमाथि कुटपिट गरिएको बताएका छन्। ‘एकाएक आएर हामीमाथि लाठी प्रहार गरे,’ उनले भनेका छन्, ‘हामीलाई गाडीभित्र राखेपछि पनि हानियो, सहनुको विकल्प थिएन।’ उनका अनुसार ‘सैनिक शासन तिमीहरुलाई थाहा रहेनछ’ भन्दै गाडीभित्र पनि लाठी र लात्तीले प्रहार गरेका थिए।
घाइतेहरु अस्पतालमा भर्ना भएका छन् भने केही डिस्चार्ज भएका छन्। उनीहरुलाई उपचारका लागि प्रहरीले साँझ नै ट्रमा सेन्टरमा पुर्याएको थियो। बिहीबार केहीलाई डिस्चार्ज गरिसकिएको छ भने घाइतेमध्ये केहीको मुखमा गम्भीर चोट लागेको पाइएको छ। व्यवसायी नानीमैया बस्नेतको टाउको र मुखमा चोट लागेको छ।
सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरीमाथि आक्रमण भएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले बताए। ‘नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएको बताउनुभएको छ। घाइतेमध्ये लामिछानेसहित ३ जनालाई टाउकोमा चोट लागेर गम्भीर हुनुभएको छ,’ उनको भनाइ छ।
भीडको अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुङ्गा प्रहार पाण्डेले जिकिर गरे। यसबाट बच्न नगर प्रहरीले प्रतिरक्षा गरेको हो,’ उनको दाबी छ, ‘कसैमाथि दमन गर्ने वा घरपकड गर्ने काम हामीबाट भएको छैन। त्यो हाम्रो काम पनि होइन।’ सडक व्यापारलाई महानगरपालिकाले पूर्णतया निषेध गरेको उनको भनाइ छ। ‘हामीले कर्तव्य निर्वाह गर्दा गर्दै घटना भएको हो,’ पाण्डेको दाबी छ।
महानगर प्रहरी टोली बुधारबार साँझ साढे सात बजेतिर टेलिकम अगाडिको फुटपाथमा पुगेको पाण्डेको भनाइ छ। यस लगत्तै घटना भएको उनले बताए।
नगर प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिन पाउने कानुनी व्यवस्था छैन। नियन्त्रणमा लिन नै नपाउने नगरप्रहरीले कसैलाई कुटपिट गर्ने विषय झन् टाढाको हो।
महानगरपालिकाले ११ साउन २०८० मा राजपत्रमा प्रकाशित गरेको ‘महानगर प्रहरी ऐन २०८०’ को परिच्छेद ३ मा महानगर प्रहरीका काम, कर्तव्य र अधिकार छन्। उक्त खण्डमा नगरप्रहरीले कसैमाथि पनि बल प्रयोग गर्ने व्यवस्था लेखिएको छैन।
काठमाडौँको नगरप्रहरीले भने यसअघि कैयौँ पटक नागरिकहरूमाथि लाठीचार्ज गर्दै आएको छ। यसविरुद्ध सरोकारवालाको आवाज पनि मसिनो छ।
महानगर प्रहरीले निर्घात लाठी वर्षाएर घाइते बनाएपछि टेकुमा प्रहरी चौकीलाई जिम्मा दिएको थियो।


