काठमाडौँ- वाफ महिला च्याम्पियनशिपमा उपविजेता बनेको नेपाली फूटबल टोली शुक्रबार राति घर फर्किएको छ।
स्वदेश फर्किएको नेपाली टोलीलाई शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फूटबल संघ (एन्फा)का पदाधिकारीले स्वागत गरेका छन्।
साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा भाग लिन नेपाली फूटबल टोली दुई साताअघि साउदी अरब गएको थियो।
लिग चरणका सबै खेल जितेर समूह विजेता बनेको नेपालले सेमिफाइनलमा लेबनानलाई पराजित गरेको थियो।
साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल रंगशालामा बिहीबार राति भएको फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा पराजित भएको थियो।
नेपाल पहिलो पटक सहभागी भएको प्रतियोगितामा उपविजेता बनेको हो।
















