धनगढी- युवकको हत्या आरोपमा बेलौरी नगरपालिका-९ का वडाध्यक्ष किसनसिंह रानासहित ६ जना पक्राउ परेका छन्। गत २४ कात्तिकमा झुण्डिएको अवस्थामा मृत भेटिएका बेलौरी नगरपालिका–९ का १८ वर्षीया अनुश रानाको हत्या अभियोगमा वडाध्यक्ष रानासहितका ६ जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीका अनुसार पक्राउ पर्नेमा स्थानीय सुकदेव राना, भंगी राना, अनिरुद्र राना, दुक्खो राना र सुरज रानालाई पनि छन्।
मृतकका बुवाले छोराको हत्या गरेर आत्महत्या देखाउन रुखमा झुण्ड्याइएको आरोपमा इलाका प्रहरी कार्यालय बेलडाँडीमा किटानी जाहेरी दिएका थिए। सोही किटानीका आधारमा अनुसन्धानका लागि उनीहरु सबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुमाथि अनुसन्धान गर्न प्रहरीले १० दिन हिरासतमा राख्ने अनुमति पाएको छ।


