काठमाडौँ- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २३ वर्षपछि हत्याका आरोपितलाई पक्राउ गरेको छ।
काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ माकलबारीबाट उनलाई सीआईबी टोलीले सोमबार पक्राउ गरेको हो।
सीआईबीका एसपी होबिन्द्र बोगटीका अनुसार नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का ४४ वर्षीय प्रेमबहादुर तामाङ पक्राउ गरेका हुन्।
२०५७ माघ १६ गते साबिक ध्याङफेदी गाविस वडा नम्बर ३ मा मख्खु भन्ने छेवाङ तामाङको हत्या गरेको आरोप प्रेममाथि छ।
आफन्तको घरमा घेवा मान्न जाँदा नाँचगानका क्रममा प्रेमबहादुरले छेवाङमाथि खुकुरी प्रहार गरी हत्या गरेका थिए।
छेवाङ र स्थानीय छट्टु तामाङबीच भएको झगडाको विषयलाई लिएर प्रेमबहादुरले छेवाङको हत्या गरेको प्रहरीले जनाएको छ।
उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाएको छ।


