चितवन- जनजातिको भाषा र संस्कृति प्रवर्द्धन गर्न चितवनमा महोत्सव गरिने भएको छ। आगामी चैत ९ देखि १८ गतेसम्म नारायणी नदी किनारमा ‘प्रथम आदिवासी जनजाति सास्कृतिक तथा व्यापार महोत्सव’ आयोजना गर्न लागिएको हो।
आदिवासी जनजाति महासङ्घले आयोजना गर्न लागेको उक्त महोत्सवको तयारीबारे आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। महोत्सवमा तीन सय कक्ष रहने छन्। भरतपुर भ्रमण वर्ष, २०२४ लाई लक्षित गर्दै महोत्सवको आयोजना गरिएको महासङ्घ चितवनका अध्यक्ष एवं मेलाका संयोजक महेन्द्र दुराले जानकारी दिए।
उनले भने, ‘आदिवासी जनजातिको भाषा र संस्कृति संरक्षण गर्न महोत्सवको आयोजना गरिएको हो। यसबाट भरतपुर भ्रमण वर्र्षको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ।’ महोत्सव अवधिभर दैनिकजसो सांस्कृतिक प्रदर्शनीको अवलोकन गर्न सकिने छ।
सो अवसरमा चितवनमा ४० आदिवासी जनजाति समुदायको बसोबास रहेको जानकारी दिइयो। तीन लाख ३२ हजारभन्दा बढी आदिवासीको बसोबास रहेको चितवनमा पहिलोपटक आयोजना गर्न लागिएको सो महोत्सवले आदिवासी संस्कृतिको संरक्षणसँगै पहिचान दिने संयोजक दुराको भनाइ छ।
चितवनमा कूल जनसङ्ख्याको ४६ प्रतिशत आदिवासी जनजातिको बसोबास छ। चितवनमा थारु, दराई, कुमाल, तामाङ, बोटे, चेपाङ, मगर, गुरुङ, थकाली, नेवार, दुरा, राई, लिम्बू, भुजेल, ह्योल्मो, बरामलगायतका जनजाति छन्। सांस्कृतिक जागरणसँगै विभिन्न जातजाति, वर्ग र समुदायबीच सद्भाव एवं भ्रातृत्व अभिवृद्धिका लागि महोत्सवबाट मद्दत पुग्ने महासङ्घका सल्लाहाकार पदम गुरुङले बताए।


