काठमाडौं– नेपाल बास्केटबल संघको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ। त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्ड हलमा शनिबारदेखि हुने प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई विधामा प्रतिस्पर्धा हुनेछ।
ब्वाइजतर्फ ३२ र गर्ल्सतर्फ आठ टोलीको सहभागिता जनाउने प्रतियोगितामा विदेशी टोलीका रूपमा ‘बंगलादेश नेभी’ र ‘बंगलादेश युनिभर्सिटी’को क्लबले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘ली निङ नेपाल’ आधिकारिक पार्टनर रहेको समेत जानकारी गराइयो।
प्रतियोगिताको ब्वाइजतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने गर्ल्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउनेछन्। दुवैतर्फको सर्वोकृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। नेपाली टोलीले दुई विदेश खेलाडीलाई अनुबन्ध गर्न पाउनेछन् तर एक पटकमा एक जनालाई मात्र कोर्टमा उतार्न पाइने आयोजकले बताएको छ।
नेपाल बस्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले नेपालमा राम्रो सम्भावान भएको र आर्थिक रूपमा पनि कम भार पर्ने भएकाले थ्री वाइ थ्री बास्केटबल प्रतियोगिता गर्न लागेको बताए। ‘थ्री वाइ थ्री बास्केटलब नेपालमा राम्रो सम्भावना बोकेको खेल हो, यो प्रतियोगिता आयोजना गर्दा आर्थिक भार पनि केही कम हुने र सबैको पहुँच सम्म पुग्ने भएकाले नै यसलाई प्राथमिकतामा राखेका हौं,’ गुरुङले भने।
बास्केटबल संघले युवापुस्तामा खेलको ब्राण्डिङको लागि यो पटकबाट ब्राण्ड एम्बास्डरमा नेपाली फिल्मका युवा अभिनेता अनुपबिक्रम शाहीलाई अनुबन्ध गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै अनुपले बास्केटबल आफ्नो रूचीको खेल भएको बताए । ‘सानो उमेरदेखि बास्केटबल मेरो रोजाईको खेल थियो,’ अनुपले भने ‘नेपालमा यो खेलको विकासको लागि र युवापुस्ताको रोजाईको खेल बनाउन सहकार्यको लागि अग्रसर भएको हुँ।’


