काठमाडौँ- चालु आर्थिक वर्षको ९ महिनामा १२ खर्ब १ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। गत आर्थिक वर्षका तुलनामा १८ प्रतिशत कम आयात हुँदा सरकारको राजस्व संकलन पनि प्रभावित भएको छ।
गत वर्ष साउनदेखि चैतसम्मको ९ महिनामा १४ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। गत वर्षका तुलनामा करिब २ खर्ब ६५ अर्ब कमको आयात भएको छ।
चालु आर्थिक वर्षको चैत महिनामा हालसम्मकै सर्वाधिक आयात भएको छ। यस महिनामा १ खर्ब ४३ अर्ब रुपैयाँको आयात भएको छ। भदौ महिनामा पनि करिब चैत महिनाकै हाराहारीमा आयात भएको देखिन्छ। भदौमा १ खर्ब ४२ अर्ब रुपैयाँको वस्तु आयात भएको छ।
वर्षकै सर्वाधिक कम आयात माघ महिनामा भएको छ। करिब १ खर्ब २७ अर्ब रुपैयाँको वस्तु आयात भएको विभागको तथ्याङ्कले देखाउँछ।
असोज र पुसमा १ खर्ब २८ अर्ब तथा कार्तिक र मंसिरमा १ खर्ब ३२ अर्बको हाराहारीमा आयात भएको छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब २१ अर्ब मंसिरमा १ खर्ब ३२ अर्ब र फागुनमा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको विभागको तथ्याङ्कले देखाउँछ।
यस अवधिमा पेट्रोलियम पदार्थको सबैभन्दा धेरै २ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ। यसैगरी स्टिल तथा आइरनमा १ खर्ब रुपैयाँको आयात भएको छ।
३६ अर्ब ४४ करोड रुपैयाँ सवारी साधानमा बाहिरिँदा विद्युतीय उपकरण तथा पार्टपुर्जामा ७३ अर्ब ६७ करोड बाहिरिएको विभागको तथ्यांकले देखाएको छ। तरकारी आयातमा २५ अर्ब २५ करोड रुपैयाँ बाहिरिएको छ।
यसबाट २ खर्ब ७६ अर्ब सरकारलाई राजस्व प्राप्त भएको छ। चालु आर्थिक वर्षको ९ महिनामा आयातसँगै निर्यात पनि घटेको छ। समीक्षा अवधिमा निर्यात २६.३४ प्रतिशतले घटेर १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको छ।
समीक्षा अवधिमा ९ अर्ब रुपैयाँ बराबरको गलैँचा निर्यात भएको देखिन्छ। माघ महिनाबाट आयात प्रतिबन्ध हटाइएकाले चैतबाट आयात बढ्ने क्रम सुरु भएको हो।
आयात बढेसँगै विदेशी मुद्राको सञ्चितिमा विस्तारै चाप बढ्ने खतरा देखिएको छ। आयातको सिधा असर चालु खाता र समग्र भुक्तानी सन्तुलनमा पर्ने गर्दछ।
राष्ट्र बैंकको फागुन महिनाको तथ्याङ्कनुसार नेपाल विदेशी मुद्रा सञ्चितिमाथिको दबाब कम भएको छ। आयातमा आएको कमी, रेमिट्यान्समा भएको वृद्धि, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारण नेपाल विदेशी मुद्रा सञ्चितिमा सुविधाजनक अवस्थामा छ।
फागुनमा विदेशी मुद्राको सञ्चिति गत साउनको तुलनामा १२.१ प्रतिशतले बढेर १० अर्ब ६९ अर्ब डलर पुगेको छ। उक्त सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको दाबी छ। यसैगरी चालु खाता घाटा घटेर ४४ अर्ब ३१ करोडमा सिमित भएको छ। गत वर्षको यसै अवधिमा यस्तो घाटा ४ खर्ब ६० अर्ब ६२ करोड रहेको थियो।
बढ्दो चालुखाता घाटाले गर्दा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो। चालु आर्थिक वर्ष भने मुलुकको शोधनान्तर स्थिति १ खर्ब ४८ अर्बले बचतमा रहेको छ। यस अवधिमा विप्रेषण आप्रवाह ७ खर्ब ९४ अर्ब भित्रिएको छ।
चालु आर्थिक वर्ष औषतमा हेर्ने हो भने रेमिट्यान्स ९९ अर्ब २५ करोडका दरले भित्रिएको छ। यसैगरी विदेशबाट प्राप्त हुने खुद ट्रान्सफर भने २३.९ प्रतिशतले बढेर ८ खर्ब ८६ अर्ब रहेको छ।
राष्ट्र बैंकले मुलुकको बाह्य क्षेत्रको तथ्याङ्क भन्सार विभागको भन्दा १ महिना ढिला गरी निकाल्ने गर्दछ। विभागबाट आउने तथ्याङ्क प्रसोधन गरी उसले बाह्य क्षेत्रको स्थितिबारे तथ्याङ्क सार्वजनिक गर्दछ।
फागुनको तुलनामा चैत महिनामा ४ अर्ब रुपैयाँ बढीको मात्रै आयात भएको छ। चैतमा आयात भएको १ खर्ब ४३ अर्ब धान्नका लागि बढ्दो ट्रेन्डमा रहेको विप्रेषण आप्रवाह, खुद ट्रान्सफरले भरथेग गर्ने देखिएको छ।
यस्तै सेवातर्फको घाटा करिब १२ अर्बले बढ्ने देखिन्छ। यसले गर्दा सञ्चितिमाथि चैत महिनामा करिब १ खर्ब ५५ अर्बको दबाब हुने देखिन्छ।
चैत महिनामा रेमिट्यान्सबाट करिब १ खर्ब र पेन्सनलगायतका खुद ट्रान्सफरबाट प्राप्त हुने आयबाट १७ अर्ब विदेशी मुद्रा भित्रिने देखिन्छ।
यसैगरी करिब १५ अर्ब जतिको निर्यात बापत विदेशी मुद्रा भित्रिने देखिन्छ। यसैगरी राष्ट्र बैंकलाई विदेशी मु्द्राबाट प्राप्त हुने ब्याज आम्दानी, प्रत्यक्ष वैदेशिक लगानी लगायतका कारण विदेशी सञ्चितिमाथि त्यति ठूलो दबाब पर्ने संभावना कम देखिन्छ।
फागुन महिनाबाटै विदेशी विनियम सञ्चिति बढ्नेक्रममा गिरावट आउन थालेको छ। चैत महिनामा यस्तो गिरावट आउनेक्रम अझै बढ्न सक्ने सम्भावना रहेको राष्ट्र बैंक स्रोत बताउँछ।
‘केही वस्तुको आयातमा लागेको प्रतिबन्ध हटेसकेकाले प्रतीतपत्र (एलसी) खोल्नेक्रम बढेको छ। फागुनबाट सञ्चितिको वृद्धिदरमा कमी आउन थालेको छ। विदेशी मुद्राको सञ्चिति घट्दै जाने, चालु खाता घाटा बढ्ने र शोधनान्तर बचत कम हुँदै जाने देखिन्छ। आगामी महिना मुलुकमा भित्रिने तथा बाहिरने विदेशी मुद्राको सञ्चिति लगभग बराबर हुने अवस्था देखिएको छ। विस्तारै वृद्धिदर स्थिर हुँदै सञ्चिति घट्ने क्रम सुरु हुने देखिन्छ,’ स्रोतले भन्यो।


