हरिवन- सर्लाहीबाट चार वर्षीय बालक अपहरण गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन्।
भारतको सितामढी बथुवारा-१ निवासी २७ वर्षीय अतावुल अन्सारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
बुधबार दिउँसो सर्लाहीको पर्सा गाउँपालिका-२ संग्रामपुरस्थित मामाघर आएका चार वर्षीय बालक अंकितकुमार रामलाई अन्सारीले अपरहरण गरेर लगेका थिए। उनी केही दिन पहिले मात्र भारतकै सीतामढी सोनवर्षा जानकीनगर-१ दरबार लालवनीबाट मामाघर सर्लाही आएका थिए।
बालक कुरमुरे किन्न बजार निस्किएको मौका पारेर अन्सारीले अपहरण गरेका थिए।
बालकको हात समातेर जबरजस्ती तानेर लग्ने क्रममा स्थानीयले देखेका थिए। यसपछि प्रहरी र स्थानीयको सहयोगमा बालकलाई उद्धार गरिएको र अपहरणकारी अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारूले जानकारी दिए।
बालकलाई बुवाको जिम्मा लगाएको छ। अपहरणकारी अन्सारीमाथि अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत सर्लाहीमा लगिएको सर्लाही प्रहरीले जानकारी दिएको छ।
