काठमाडौँ- आज महाशिवरात्री पर्व । देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ। महाशिवरात्रिमा विशेष गरी भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा शिवको पूजा गर्ने दर्शनार्थीहरुको घुइँचो छ।
आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन्। आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ।
आजै नेपाली सेना दिवस परेकाले नेपाली सेनाले टुँडिखेलमा शिवरात्री विशेष समारोह पनि आयोजना गर्दै छ।
