काठमाडौँ- नेपाली सेनाले २६१ औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा काठमाडौँको टुँडिखेललगायत मुलुकभर विविध कार्यक्रम गरी सेना दिवस मनाइरहेको हो।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ वार्षिकोत्सव मनाएको हो।
राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन्।
वार्षिकोत्सवको अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्।
सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम गरेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
तस्बिरहरू



































