सिक्लेस- कास्की जिल्लाको सदरमुकाम पोखरादेखि करिब ३८ कि.मी को दूरीमा अवस्थित सिक्लेस मादी गाउँपालिका-१ मा पर्दछ। करिब ४ सय घरधुरीको बसोबास रहेको सिक्लेसलाई गुरुङ भाषामा च्यीली भन्ने गरिन्छ।
च्यीली शब्दबाट सिकलेस शब्द निर्माण भएको विश्वास गरिएपनि यसको नामकरणका विषयमा तथ्यपरक अध्ययन भने नपाइएको मादी गाँउपालिका वडा न १ का वडा अध्यक्ष देवीजङ्ग गुरुङ बताउँछन्।
सिक्लेसमा हाल हर्पथर, लामाथरगैरीथर, धप्राङथर, सभाथर (कोइथर) गरी ५ वटा टोल रहेका छन्। यहाँको प्रमुख पेसाको कृषि र पर्यटन हो। सिक्लेसमा हाल २९ वटा सामूदायिक होमस्टे छन्।
४६ वटा होटेल सिक्लेस, कॉरीतसा हुगु र क्हफुचे क्षेत्रमा सञ्चालित छन्।
समुद्री सतहदेखि २ हजार मिटर उचाइमा सिक्लेस गाउँ अन्नपूर्ण र लमजुङ हिमालको काखमा पर्दछ। बिहान सबेरै उठेर जहाँबाट हेर्दा पनि हिमाल खुलेको देखिन्छ।
सिक्लेसबाट डेढ घण्टा उकालो हिँडेर २ हजार ३५० मिटरको उचाइ भएको राइजिङ डाँडाबाट अन्नपूर्ण र लमजुङ हिमाल अवलोकन गर्न पुग्नेहरूको संख्या उल्लेख छ। आँखै अगाडि आउने हिमालका मनोरम दृश्यले पर्यटकहरूलाई लोभ्याउने गरेका छन्।
गुरुङ भाषा, संस्कार, संस्कृति र परम्परा भएको सिक्लेस गुरुङ जातिको इतिहास अध्ययनको पाठशाला बनेको छ। नेपालको अक्षांश र देशान्तर दुवै रेखाबाट काटिँदा कायम भएको मध्यबिन्दु कोरी यसै वडामा छ। यसैगरी नेपालकै सबैभन्दा कम उचाइको हिमताल क्हफुचे पनि यही वडामा पर्दछ।
तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, र अर्का नेता बाबुराम भट्टराई २०६३ असार २ गते सिक्लेसमा नै सार्वजनिक भई शान्ति प्रक्रियामा आएका थिए। सिक्लेसबाट शान्ति प्रक्रिया हुँदै सिंहदरबारसम्म आइपुगेका माओवादी अध्यक्ष प्रचण्ड तीन पटक प्रधानमन्त्री बनिसकेका छन्।


















नेपाल फोटो लाइब्रेरी
