काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका २०७९’ खारेज गर्न माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। विद्यार्थीले नयाँ बानेश्वर एभेरेस्ट होटेल अगाडि प्रदर्शन गरेका हुन्।
निर्देशिकाले स्नातक वा सो भन्दामाथिका तहमा अध्ययन गर्न जाने विद्यार्थीका लागि मात्र एनओसी जारी गरिने व्यवस्था गरेको छ।
सरकारले फागुन १८ गते स्वीकृत गरेको निर्देशिकाले अनुमति लिने चरण, शिक्षण संस्था र विषय छनोट, विदेशी मुद्रा सटहीलगायत प्रक्रियामा कडाइ गरेको छ। शिक्षासँग पूर्वयोग्यता, सम्बन्धित भाषा तथा ब्रिज कोर्सका लागि त्यसको व्यहोरा खुलाएर मात्र स्वीकृति लिन पाइने व्यवस्था गरिएको छ। यस्तो कोर्स अध्ययनको कारण, आधार र शिक्षण संस्थाको प्रबन्ध उल्लेख गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।
यसअघि भाषा, तालिम र डिप्लोमा कोर्स गर्न पनि एनओसी दिने व्वस्था थियो। कतिपय परामर्शदातृ संस्थाले बद्माशी गर्ने गरेको र त्यसले गर्दा विद्यार्थी समस्यामा परेको गुनासो आएकाले यस्तो व्यवस्था गरिएको मन्त्रालयको दाबी छ।
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को हिजो डिल्लीबजारमा बसेको बैठकले विदेश पढ्न जाने विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै जाँदा अनुमति लिने चरण, शिक्षण संस्था र विषय छनोट, विदेशी मुद्रा सटही लगायत प्रक्रियामा कडाइ गरेको बताउँदै इक्यानले निर्देशिकाका व्यवस्था सच्याउन माग गरेको छ।









