काठमाडौं- नेपाल टेलिकमले मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाई महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षको लागि ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ। नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरे। सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आवद्धता महत्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडर मार्फत कम्पनीका विभिन्न सेवाहरुका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने बिश्वास व्यक्त गरिन्।
कार्यक्रममा ब्रान्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकम जस्तो गरिमामय सरकारी निकायसँग आवद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताए। मुलुकको कलाकारिता तथा सञ्चारको क्षेत्रमा विशिष्ठ पहिचान बनाएका ब्रान्ड एम्बेसडरहरुको संलग्नताबाट कम्पनीका ग्राहकवर्गले कम्पनीका विविध सेवा सम्बन्धमा सहज रुपले जानकारी प्राप्त गर्ने र कम्पनीले आफ्ना सेवाहरुको प्रवर्द्धन गरी सशक्त रुपमा जनता समक्ष सेवा विस्तार गर्ने कार्यमा सहयोग मिल्ने अपेक्षा गरिएको छ।
यसअघि टेलिकमले सञ्चारकर्मी श्री पाण्डे र डा. सन्तोष उपाध्यायलाई कम्पनीले ‘ब्राण्ड प्रमोटर’ नियुक्त गरेको थियो।
