काठमाडौँ- आफूहरूसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै आशा लघुवित्त वित्तीय संस्थाका कर्मचारी फेरि आन्दोलित बनेका छन्। साविक राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ती गरेपछि बनेको आशा लघुवित्तको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै आएका कर्मचारीले यसअघि गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलित बनेका हुन्।
‘सबै सम्झौता यही फागुन १६ गतेसम्म कार्यान्वयन गर्नुपर्ने थियो। तर, अहिलेसम्म कर्मचारीको सेवासुविधा समायोजनबाहेकका कुनै पनि काम भएको छैन,’ आशाका एक कर्मचारीले भने।
व्यवस्थापन समूहले आन्दोलनको समयमा भएका सहमति कार्यान्वयन गर्नुको सट्टामा उल्टै तालिमको आयोजना गरी कर्मचारीमाथि मानसित दबाब सिर्जना गरिएको ती कर्मचारीको जिकिर छ। अनुगमन अधिकृतहरुले दैनिक एनपीएल नघटाए जागिर छोडेर जान धम्की दिएको उनको भनाइ छ। कर्मचारीको अनावश्यक सरूवा र घटुवा गर्न थालिएको समेत उनको आरोप छ।
यसअघि आशा लघुवित्तका कर्मचारीले विभिन्न माग राख्दै १७ दिनसम्म आन्दोलन गरेका थिए। माग पूरा नभएको खण्डमा करिब दुई सय जनाले संयुक्त राजीनामा दिने बताएका थिए। पछि व्यवस्थापक समूहले वार्तामा बोलाई १६ बुँदे सम्झौता गरेको थियो। तर ती सम्झौता पूरा नगरेको भन्दै कर्मचारी पुनः आक्रोशित बनेका हुन्।
लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले सम्झौता कार्यान्वयन गर्न थालिएको बताए।
‘आशा लघुवित्त मात्रै रहँदा यति लामो समयसम्म कहीँकतै यस्तो आन्तरिक कलह भएको थिएन। हामी कर्मचारीको हकहित प्रति सकरात्मक नै छौँ,’ सीईओ दुलालले भने, ‘तोकिएकै समयमा सबै काम पूरा नभएको मात्र हो। हामी सबै सम्झौता कार्यान्वयनको पक्षमा छौँ। क्रमिक रूपमा सम्झौताअनुसारका काम गरेका छौँ। ’
यता कर्मचारी भने चैत १ गतेदेखि पुनः आन्दोलन चर्काउने पक्षमा छन्।


