काठमाडौँ- सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेकाे हाे।
गत साउन २ बरामद ६० किलो सुन तस्करी प्रकरणका मूख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए। जाँचबुझ आयोगकाे प्रतिवेदनमा उनले उन्मुक्ति पाएकाे समेटिए पछि पुन पक्राउ परेका हुन्।
सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो। सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङसँग दिपेशको बाक्लो उठबस रहेको भेटिएको थियो।
स्रोतका अनुसार, छिरिङसँग उनले केही कम्पनीमा साझेदारीसमेत गरेका थिए। सीआईबीमा गरेको बयान कागजमा पुनले दावासँगको चिनजान र सम्बन्धलाई समेत स्वीकार गरेका थिए। तर सुन कारोबारमा संलग्न नरहेको दाबी गरेका थिए।
छानबिन आयोगका एक सदस्यका अनुसार, दिपेश दावासहित अन्य चिनियाँ नागरिकहरुसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको समेत पाइएको छ। ०७६ माघ १ गते दावाकी श्रीमती अमला रोका र तीन चिनियाँ नागरिकसँग दिपेश गोसाइँकुण्ड गएका थिए।
