काठमाडौँ– हिमालयन इन्टरप्राइजेज प्राइभेट लिमिटेडले ललितपुरको पुल्चोकस्थित ३ (घ) को कित्ता नं ४३ को जग्गा हडपेको भनी फैलाइएको समाचार भ्रमपूर्ण भएको दाबी गरेको छ। कानुनी रूपमा आफ्नो नाममा रहेको जग्गा हडपिएको जिकिर गर्दै भ्रमपूर्ण समाचार प्रकाशन गरिएको भन्दै इन्टरप्राइजेजले आपत्ति जनाएको हो।
इन्टरप्राइजेजले शनिबार प्रेस विज्ञप्ति जारी गरी तीन दशक लामो कानुनी लडाइँबाट आफ्नो स्वामित्व प्राप्त गरेको उल्लेख छ। स्वार्थ समूहले कुनै आधार र प्रमाणबिना अनधिकृत रूपमा जग्गा कब्जा गरेको भनी विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा अनर्गल प्रचार गरी हिमालयन इन्टरप्राइजेज र यसका सञ्चालकहरूको व्यक्तिगत मान, प्रतिष्ठा तथा इज्जतमा समेत हिलो छ्याप्ने प्रयास गरिरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
‘विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यमबाट केही पक्षले सो जग्गा बलपूर्वक हडपेको भनी भ्रमपूर्ण र सुनियोजित तवरबाट समाचार प्रवाह गरेको देखिएको छ। सो कार्यप्रति हिमालयन इन्टरप्राइजेज प्रालिको घोर आपत्ति रहेको छ,’ हिमालयनको विज्ञप्तिमा उल्लेख छ, ‘सो सम्बन्धमा तपसिलमा उल्लेखित प्रमाण तथा कागजातहरू यस प्रालिसँग रहेको र कुनै पनि निकाय, व्यक्ति वा संस्थाको तर्फबाट माग भएका बखत उपलब्ध गराउन तत्पर रहेको व्यहोरा जानकारी गराउँदछौं।’
उक्त जग्गा रातो मच्छिन्द्रनाथसँग सम्बन्धित ञवाः गुठीको जग्गा रहेको र हिमालयन इन्टरप्राइजेजले सो जग्गा हडप्न खोजेको भन्ने केही समूहले लगाएको आरोपको खण्डन हिमालयनले गरेको हो।
हिमालयनका अनुसार २०३८ साल पुस १६ गते जिल्ला मालपोत कार्यालय ललितपुरमा कम्पनीले जग्गा दर्ताका लागि निवेदन दिएको थियो। त्यसपछि कि.नं. ४३ छुट जग्गा दर्ता सम्बन्धमा ललितपुर जिल्ला अदालतको २०४८ आश्विन २० गतेको फैसलाअनुसार कम्पनीको नाममा जग्गा दर्ता हुने ठहर गरेको हिमालयनको जिकिर छ।
त्यसलाई पुनरावेदन अदालत पाटनले २०५२ कार्तिक २८ गते जिल्ला अदालतको फैसलालाई बदर गरे पनि पछि २०५७ जेठ ३२ गते सर्वोच्च अदालतले हिमालनकै नाममा हुने फैसला गरेको थियो।
२०६६ श्रावण १२ गते को ललितपुर उप.म.न.पा. वडा नं. ३ को कार्यालयको सर्जमिनमा सम्पूर्ण गुठी (मिखावहाल गुठी, छायवहाल ञवा खल)लगायतका गुठीले उक्त जग्गालाई कम्पनीको जग्गा भनी सर्जमिन गरेको पनि विज्ञप्तिमा भनिएको छ।


