काठमाडौँ- एक विचारगोष्ठीका वक्ताहरूले नेपाललाई सनातन धर्मसापेक्ष राष्ट्र बनाउन माग गरेका छन्। वाल्मीकि क्याम्पसमा आयोजित ‘सनातन धर्मसापेक्ष राष्ट्रको महत्व र आवश्यकता’ विषयक विचारगोष्ठीका वक्ताहरूले यस्तो माग गरेका हुन्। ०६२/०६३ को जनआन्दोलनपछि बनेको सरकारले विदेशीको प्रभावमा परेर धर्ममाथि प्रहार गरेको गोष्ठीका वक्ताको ठहर छ।
नेपालको अस्तित्व रक्षाका लागि धर्मसापेक्षताको अपरिहार्यताबारे प्रकाश पारेका हुन्। पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त गोष्ठीमा पूर्वीय दर्शनका विद्वान् मोदनाथ खनालले कार्यपत्र प्रस्तुत गरेका थिए। खनालको कार्यपत्रमा प्रा.डा. मुकुन्द लामिछानेले टिप्पणी गरेका थिए।
कार्यपत्र प्रस्तुतिका क्रममा खनालले वेदमा उल्लेख भएको आदर्श चिन्तन तथा धर्म नै सनातन धर्म भएको र वैदिक सनातन सभ्यता सबै सम्प्रदायको छानो भएको बताएका थिए। सबै धर्मको मूल नै सनातन धर्म नै रहेको र विश्वमा हाल प्रचलनमा रहेका विभिन्न धर्म सम्प्रदाय त्यसैको हाँगाबिँगा मात्रै भएको दाबी गरे। नेपाल सनातन धर्मको उद्गमस्थल भएकाले नेपाललाई सनातन धर्मसापेक्ष राष्ट्र बनाउनका लागि जस्तोसुकै संघर्षमा उत्रनुपर्ने विचार राखे।
कार्यपत्रमाथि टिप्पणी राख्दै नेसंवि केन्द्रीय प्राध्यापक संघका सभापतिसमेत रहेका प्रा.डा. मुकुन्दप्रसाद लामिछानेल सनातन धर्म र मानवसभ्यता अलग नभई एउटै भएको बताए। अहिलेको राज्यव्यवस्थाले धर्मनिरपेक्षता लादेर राज्यलाई खोक्रो पार्ने काम गरेको उनको भनाइ थियो। वेदमन्त्रले समग्र पृथ्वीलाई नै मानवजातिको आमा मानेको र ‘वसुधैव कुटुम्बकम्’ले समस्त विश्ववासीलाई कुटुम्ब वा आफन्त ठानेको दृष्टान्त उनले पेस गरे।
कार्यक्रममा वाल्मीकिका बौद्धदर्शन विभागका उपप्राध्यापक शान्तरत्न बज्राचार्यले बौद्ध चैत्य भएका स्थानमा शिवलिंगको रहने र भैरवको पूजा पनि शिवसँगै हुने भन्दै बौद्ध धर्म र सनातन हिन्दू धर्म अलग नभएको उल्लेख गरेका थिए।
नेसंवि केन्द्रीय प्राध्यापक संघका पूर्वसभापति प्रा.डा. शान्तिकृष्ण अधिकारीले नेपालका नेताहरूले गंगाजल अचाउन छाडेर वान्की मुनको होलीवाइन पिउन थालेको भन्दै नेतृत्ववर्गप्रति कटाक्ष प्रहार गरे। सबै विद्वानले सनातन धर्मका सम्बन्धमा लेख रचना सिर्जना गरी जनजागरण फैलाउन उनले आग्रह गरेका थिए।
वाल्मीकि विद्यापीठका प्राचार्य प्राडा भागवत ढकालले क्रिस्चियन धर्मका प्रवर्तक ईसामसीहले समेत सोह्र वर्षसम्म भारतमा बसी पौरस्त्य धर्मदर्शन अध्ययन गरेको इतिहास रहेको उल्लेख गरे। वेदलाई मूल प्रमाण मानी अघि बढेको सनातन धर्म तथा सनातन सभ्यताको छानामा सबै धर्म र सम्प्रदाय अटाउन सक्ने विचार उनले राखेका थिए।
नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघका उपाध्यक्ष प्रा.डा.कृष्णकान्त पराजुलीले सनातन धर्मलाई राजनीतिमा मात्र होइन, पर्यटनमा समेत जोडेर अघि बढ्नुपर्ने विचार राखे।
समारोहमा समुपस्थित सबैमा स्वागत मन्तव्य राखेका प्रा.डा. धनेश्वर नेपालले ऋषिमुनिको देश नेपालबाट सनातन धर्म संस्कृति सिद्ध्याउनका लागि पाश्चात्य योजनाबद्ध ढंगले अघि बढेको आरोप लगाए। नेपाललाई सनातन धर्मसापेक्ष राष्ट्र निर्माणका लागि सबै बुद्धिजीवीले योगदान गर्नुपर्ने उनले धारणा राखे।
नेपाली कांग्रेसकी नेतृ डा डिला संग्रौलाले नेपालमा धर्मनिरपेक्षतारूपी विष रोपिएकाले विष नै फल्न थालेको भन्दै सनातन सापेक्ष राष्ट्र निर्माणका लागि अब आफू देशैभर अभियान चलाउन सक्रिय रहने बताइन्। नेपाललाई सनातन धर्मसापेक्ष मुलुक बनाउनका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्नसमेत उनले सबैलाई आग्रह गरेकी थिइन्।
अर्का अतिथि पूर्वमन्त्री एवं महर्षि वैदिक फाउन्डेसन नेपालका अध्यक्ष दीपकप्रकाश बास्कोटाले नेपाललाई विश्वकै एक ज्ञानशालाका रूपमा विकास गर्नका लागि सनातन धर्मको जगका रूपमा रहेको गुरुकुल परम्पराको विकास र संरक्षण संवर्धनमा जोड दिए।
विचार गोष्ठीका प्रमुखअतिथि भण्डारीले वैदिक सनातन धर्म र नेपाल राष्ट्रको अन्योन्याश्रित सम्बन्ध भएकाले आफू सनातन धर्मसापेक्ष नेपालका पक्षमा उभिँदै आएको बताए। आफ्नो पहलमा धर्मको मुद्दाले पार्टीको महासमितिमा प्रवेश पाएको र देशको राजनीति तरंगित भएको उनले सुनाए। आफ्नो सास रहुन्जेल कुनै डर, धम्की, लोभलालचमा नपरी आफू धर्मको पक्षमा लडिरहने प्रतिबद्धता भण्डारीले व्यक्त गरे। गोष्ठीमा सहजकर्ताको भूमिका प्रजातन्त्रवादी प्राध्यापक संघ वाल्मीकिका सचिव डा. रामप्रसाद पौडेलले निभाएका थिए।


