काठमाडौँ- देशका धेरै भू–भागमा आज वर्षा भएको छ।
बागमती प्रदेशको काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली तथा मधेस प्रदेश र कोशी प्रदेशमा पनि अहिले मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा सर्लाहीको चुरेमाईमा भएको छ।
चुरेमाईमा ३१.८ र सिन्धुलीमा ३०.२ मिलिमिटर वर्षा भएको छ।
मकवानपुरको राजरैयाँमा १४.६ मिलि पानी परेको छ।
ललितपुरको लेलेमा १३.६, काठमाडौँको ढापड्याममा १०.४, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७.४ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा अहिले हल्का हिमपात भइरहेको मौसमविद् पुडासैनीले बताए।
‘काठमाडौँमा पानी पर्दा चिसो बढेको छ, हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भइरहेको छ। शुक्रबारदेखि मौसम खुल्दै जानेछ,’ उनले भने।


