काठमाडौँ- रुसी सेनामा भर्ना भएर मृत्यु भएका नेपाली युवाका आफन्तले डीएनएको नमूना संकलन गराएका छन्। त्रिवि शिक्षण अस्पतालमा पुगेर उनीहरुले डीएनए नमूना संकलन गराएका हुन्।
रुसमा मृत्यु भएका आफन्तको शव पहिचान हुन नसकेपछि डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको हो।
नेपालको परराष्ट्र मन्त्रालयका अनुसार गत २४ फागुनमा रुसी सेनामा मृत्यु भएका १५ जना नेपालीको शव पहिचानका लागि रुसले परिवारका सदस्यको डीएनएको नमुना पठाइदिन पत्राचार गरेको थियो।
नेपाल पराराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले दाङका जीतबहादुर पुन मगर र अभिषेक बुढा, नवलपरासीका प्रेमप्रकाश न्यौपाने, बाँकेका चन्द्रबहादुर बिसी, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङ, प्यूठानका सोमेश सुनुवार र विकास राई, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, तेह्रथुमका टीकाबहादुर रानामगर र भीमबहादुर बिसी, खोटाङका क्षितिज बस्नेतको परिवारको डीएनए नमुना पठाइदिन भनेको छ।
कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार हालसम्म १५ जनामध्ये ८ जनाको नमूना रुस पठाइएको छ।
रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने नेपालीको संख्या ३३ पुगेको मन्त्रालयले पुष्टि गरेको छ।
यद्यपि यो भन्दा धेरै संख्यामा नेपालीको मृत्यु भएको आकलन गरिँदै आएपनि पुष्टि भने भएको छैन।



