काठमाडौँ- सुन तस्करीको आरोपमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महराको बायन सकिएको छ।
इलेक्ट्रिक चुरोट भेपमार्फत् ९ किलो सुन तस्करीको आरोपमा पक्राउ परेका उनको बयान सकिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जानकारी दिएको हो।
बयान सकिएसँगै महरालाई हाजिर जमानीमा रिहा गर्ने तयारी गरिएको छ। महरामा विभिन्न खालको रोग भएकाले उनलाई छाड्ने तयारी रहेको सरकारी वकिल कार्यालय काठमाडौँको भनाइ छ।
भारत प्रवेशको तयारीमा रहेका महरालाई चैत ५ गते कपिलवस्तुबाट पक्राउ गरिएको थियो।
सुन तस्करका मुख्य नाइके दाओजिन वाङसँग सम्पर्क गरेको देखिएको भन्दै उनीमाथि अनुसन्धान भइरहेको त्यसैका लागि बयान लिइएको सीआईबीले बताएको छ।
सोमबारै काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएका उनलाई ४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न न्यायाधीश दुर्गाप्रसाद खनालले अनुमति दिएका थिए। उनलाई अस्पताल भर्ना हुन पनि अदालतले अनुमति दिएको थियो। उनले विभिन्न किसिमका औषधि लिँदै आएकाले अस्पताल बस्नका लागि अदालतले अनुमति दिएको थियो।
मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५ अनुसार हिरासतमा रहेका व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने प्रावधान छ। हाजिर जमानीमा रिहा हुने व्यक्तिलाई उपस्थित गराउन कागज हाजिर जमानी दिने व्यक्तिले गर्नुपर्ने व्यवस्था छ।
बुधबार र बिहीबार सरकारी वकिल कार्यालयमा महराको बयान लिइएको थियो। सुन तस्करीमा आफ्नो संलग्नता नरहेको भन्दै महराले इन्कारी बयान दिएका छन्।
सुनको अवैध पठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरामाथि अनुसन्धान गर्न आवश्यक रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।


