डोल्पा- बचत गर्ने बानीको विकास गर्न सिकाउन हिमाली जिल्ला डोल्पाका विद्यार्थीहरुलाई वित्तीय साक्षारता शिक्षा प्रदान गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुरा माध्यामिक विद्यालय काटियाँचौरमा अध्यययनत विद्यार्थीलाई माछापुच्छ्रे बैङ्क लिमिटेडको डोल्पा शाखाले वित्तीय साक्षारता शिक्षा प्रदान गरेको हो। विद्यालयका ४० विद्यार्थीलाई वित्तीय शिक्षा दिइएको शाखा प्रमुख कृष्ण चालिसेले जानकारी दिए।
उनले पछिल्लो समयमा बालवालिकामा पैसा भेट्यो कि खर्च गर्ने बानी परेकाले आफूसँग भएको थोरै थोरै रकम पनि बचत गर्ने र निकट भविष्य त्यसको लाभ लिनसक्ने कुराको विकास गर्न साक्षरता कार्यक्रम सञ्चालन गरेको बताए।
कार्यक्रमपछि विद्यार्थीहरुले बचत, खर्चलगायत विषयमा महत्वपूर्ण जानकारी हासिल गरेको बताए। विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बालवालिकाले वित्तीय शिक्षापछि अभिभावक र आफन्तले दिएको थोरै थोरै रकम बचत गर्ने बानीको निर्माण हुनेमा विश्वस्त रहेको बताए।


