दाङ- दाङ जिल्ला अदालतका कर्मचारीले आफूमाथि बलात्कार गरेको भन्ने आरोप झुटो सावित भएपछि आरोप लगाउने महिला नै जेल चलान भएकी छन्।
अदालतका एक कर्मचारीले केही समय पहिले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। तर ती कर्मचारीले घोराही उपमहानगरपालिका– १७ की २८ वर्षीया महिलाले आफूलाई हनी ट्र्यापमा पार्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए। ती महिलाले आफूबाट अनुचित लाभ उठाउन खोजेकोसमेत कर्मचारीले उल्लेख गरेका थिए।
सेवाग्राही बनेर अदालत पुगेकी ती महिलाले कर्मचारीमाथि जबरजस्ती बलात्कार गरेको आरोप लगाएकी थिइन्। कर्मचारीले अदालतको कोठामै आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। २५ हजार रूपैयाँ नदिएर बलात्कार मुद्दा हाल्ने धम्कीसमेत उनले दिएकी थिइन्। त्यसपछि आफू बाध्य भएर प्रहरीमा जानु परेको तहसीलदारको भनाइ छ।
प्रहरीले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलले सोही ब्यहोरासहितको ती महिलाविरूद्ध मुद्दा चलाएको थियो। चैत ७ गते जिल्ला अदालतमा न्यायाधीश लोकबहादुर हमालको इजलासले महिलालाई डेढ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। तर धरौटी बुझाउन नसकेपछि महिला कारागार चलान भएकी हुन्।


