काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग्दैमा राजीनामा नदिने बताएका छन्।
बरु कांग्रेसका नेताहरुले बोलाएको ठाउँमा गएर सहकारीको अनियमितताबारे बहस गर्न तयार रहेको बताए।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका गृहमन्त्री लामिछानेले काम गर्न नसकेको बेला राजीनामा माग्नै नपर्ने बताए।
संसदमा भने कांग्रेसले आफूलाई सुन्न नचाहेको भन्दै गृहमन्त्री लामिछानेको गुनासो छ।
‘म चुनौतीका साथ भन्न चाहन्छु, प्रभावशाली नेताहरुलाई। तपाईं कहाँ, कहिले र कुन मितिमा बोलाउनु हुन्छ, खुला ठाउँमा बहस गर्न चाहख्छु,’ उनले थपे, ‘तपाईंले भनेको ठाउँमा बोलाउनुस्, भए भरको सम्पूर्ण प्रमाण लिएर आउनु होला। तपाईंकै निर्वाचनको क्षेत्रका मान्छेको अगाडि बहस गर्न चाहन्छु।’
कांग्रेस महामन्त्री गगन थापाले आफूमाथि प्रश्न उठाएको विषयमा पनि उनको आपत्ति थियो।
‘यो बहस काठमाडौंको क्षेत्र नम्बर ४ मा भयो भने मलाई अझ सहज हुन्छ। त्यहाँका मतदाताले थाहा पाउनुपर्छ, जसलाई ठगीको आरोप लगाइएको छ, ठगी त्यसले गरेको छ अरु कसैले गरेको छ,’ उनले भने।


