काठमाडौँ- काठमाडौँ उपत्यकालगायत देशका पहाडी र हिमाली भेगमा आइतबार उल्लाहसपूर्वक होली मनाइँदैछ।
प्रहरीले फागु पर्व (होली) पर्वलाई मर्यादित बनाउन र सम्भावित दुर्घटना न्युनीकरण गर्न सुरक्षा जाँचमा कडाइ गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा बिहानैदेखि जाँच सुरु भएको जानकारी दिइएको छ।
अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, ठूलो आवाज निकाल्ने वा बजाउने, मोटरसाइकलमा तीनजना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गतिलगायत क्रियाकलापमा संलग्नलाई निगरानी गरी कारबाही थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
काठमाडौँमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ परिसरका जनशक्तिहरूलाई संयुक्त रूपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको छ।
लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे)गरी सवारी चलाउने, हो–हल्ला गर्नेमाथि कडाइ गरिएको उनले बताए।
उपत्यकामा दुई हजार पाँचसय पोसाकधारी र पाँच सय सादा पोसाकका गरी तीन हजार प्रहरी खटिएका छन्।

















