काठमाडौँ- रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले गाउँपालिकामा विद्युतीकरण गर्दा भ्रष्टाचार गरेका उनीसहित ५ जनालाई दोषी ठहर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै २७ जनालाई मुद्दा चलाएकामा ५ जना दोषी ठहर भएका हुन्। अन्य २२ जनाले भने सफाइ पाएका छन्।
खड्कासहित राजु प्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामालाई अदालतले दोषी ठहर गरेको हो। खड्कालाई १ करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाइएको छ।
त्यसैगरी न्यौपाने र चौलागाईको एकमा जनही ३ महिना कैद र ६३ लाख जरिवाना हुने भएको छ भने तामाङ र लामाको हकमा जनही ३ महिना कैद र रु ३१ लाख जरिवाना हुने भएको छ।
गाउँपालिकाको वडा नं १, ४ र ५ मा आर्थिक वर्ष २०७४ र ०७५ र ०७५र०७६ मा विद्युतीकरण गर्दा आफूहरुलाई गैरकानुनी लाभ पुग्ने र सरकारी रकममा हानिनोक्सानी पुर्याउने बदनियत राखेर अनुभव र कार्यक्षमता नभएका उपभोक्ता समितिहरुसँग विद्युतीकरण जस्तो जटिल प्रकृतिको काम गर्न योजना सम्झौता गरेको अख्तियारले आरोप लगाएको थियो।
अख्तियारले गाउँपालिकाका अध्यक्ष खड्काविरुद्ध ४ करोड २१ लाख रुपैयाँ विगो मागदावी गरेको छ। गाउँपालिका अध्यक्ष खड्कासँगै तल्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईं, तत्कालिन लेखापाल दुर्गाबहादुर डिम्दोङ, उपभोक्ता समितिका अध्यक्ष बेतबहादुर पुँवार, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापामगरविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
त्यस्तै, अर्को उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार र सचिव दलबहादुर तामाङ, अर्को उपभोक्ता समितिका अध्यक्ष होमबहादुर महत, कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्लीबहादुर सुनुवारविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
त्यस्तै पाइक कन्स्ट्रक्सन प्रालिका सञ्चालक अमृतबहादुर तामाङ (रुम्बा), वडा नम्बर १ को विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष काजीबाबु थापा, कोषाध्यक्ष तारा गुरुङ र सचिव यज्ञराज सुनुवार, वडा नम्बर १ कै उपभोक्ता समितिका अध्यक्ष वुद्धिबहादुर तामाङ, कोषाध्यक्ष मेनुका खड्का र सचिव अस्मिन रोका, अर्को उपभोक्ता समितिका अध्यक्ष प्रचण्ड सुनुवार, कोषाध्यक्ष घन्टिका देवी सुनुवार र सचिव क्याल्बु लामाविरुद्ध पनि विशेष अदालतमा मुद्दा परेको थियो।
अख्तियारले वडा नम्बर १ कै अर्को उपभोक्ता समितिका अध्यक्ष अशोककुमार सुनुवार कोषाध्यक्ष दिलमाया थापा र सचिव प्रकाश सुनुवार र गाउँपालिका कार्यालयका तत्कालिन लेखापाल नोर्बु लामाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो


