काठमाडौँ- नेपाल र चीन सीमा क्षेत्रमा रहेका १४ वटा परम्परागत नाकालाई सञ्चालनमा ल्याइने भएको छ। परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणका क्रममा बेइजिङ स्थित चिनिया समकक्षीसँग भएको भेटमा उक्त सम्झौता भएको हो। नेपाल–चीन सीमा क्षेत्रमा रहेका १४ वटा परम्परागत नाका रहेका छन्।
भेटमा चिनियाँ विदेशमन्त्री वाङले विभिन्न प्रयोजनका लागि चीन आउने नेपाली नागरिकलाई प्रवेशाज्ञा (भिषा) शुल्क फ्रि गर्न चीन सकारात्मक भएको जानकारी दिँदै त्यसलाई चाँडै नै कार्यान्वयनमा लैजाने विश्वास दिलाएका थिए। नेपालले पनि केही समयदेखि चिनियाँ नागरिकलाई भिषा शुल्क फ्रि गरिरहेको छ।
उनीहरुबीच नेपाल–चीन अन्तरदेशीय प्रसारण निर्माणलाई छिटो अघि बढाउने तथा यसअघि सचिवस्तरमा रहेको उच्चस्तरीय परामर्श संयन्त्रलाई मन्त्रीस्तरीय बनाउने सहमति भएको छ। नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) कार्यान्वयन कार्ययोजनामा चाँडै हस्ताक्षर गर्ने समझदारी भएको छ।
संयुक्त सीमा निरीक्षण टोलीले काम थाल्नेलगायतका विषयमा पनि दुवै पक्षबीच समझदारी भएको छ। दुई पक्षबीच नेपालमा कृषि प्रविधि उद्यान निर्माणको प्रक्रिया छिटो अघि बढाउने तथा विकासका योजनाका बारेमा ठोस प्रस्ताव लिएर अघि बढ्ने समझदारी भएको छ।
भेटमा चिनियाँ विदेशमन्त्री वाङले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धताको सरहाना गर्दै आगामी दिनमा पनि नेपालको प्रतिबद्धता अटुट रहने विश्वास व्यक्त गरे। सो क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएका छन्।


