काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए।
जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम बाहेक केही नभएको बताए।
‘सहकारीमा जहाँ मेरो नाम छ भनिएको छ, नामबाहेक केही छैन। केवाईसी भरेको छैन, निवेदन दिएको छैन, ल्याप्चे छैन’, उनले भने, ‘सुनिएअनुसार मुद्दा अदालतमा दर्ता भएको छ, म प्रतिवादी छैन। बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन।’
