काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बारेमा मिहिन ढङ्गले अध्ययन गरिरहेको बताएका छन्।
बुधबार राज्यव्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।
‘निर्मला पन्तलाई न्याय दिनुपर्ने छ। त्यसमा मिहिन ढंगले अध्ययन गरिरहेको छु, लागिरहने छु,’ लामिछानले भने।
२०७९ पुस ११ गते पहिलो पटक गृहमन्त्री बनेपछि कार्यभार सम्हाल्दै रविले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गरेका थिए।
कञ्चनपुर भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भएको थियो।
निर्मलाको शव ११ साउन २०७५ मा उखुबारीमा फेला परेको थियो। पन्तको हत्या भएको चार वर्ष बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन।
यस्तै गृहमन्त्री लामिछानेले सुन तस्करीमा संलग्न भएको भनिएका जीवन चलाउनेका विषयमा पनि गम्भीर अध्ययन भइरहेको जिकिर गरेका थिए।
‘सुन काण्डको प्रतिवेदन ४८० पेजको छ। त्यसमा राज्यका धेरै महत्त्वपूर्ण सूचना छन्। त्यसलाई सार्वजनिक गर्दा तस्करले लाभ पाउने अवस्था छ,’ उनले भने, ‘उपयुक्त समयमा त्यसलाई सार्वजनिक गरिनेछ।’


