काठमाडौँ- आजदेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदै छ। आज बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत्र २७ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
यो वर्ष ५ लाख ४ हजार ४१४ विद्यार्थीले परीक्षा दिन फारम भरेका छन्। कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न–गराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गरेका छन्।
आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ। यो वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट विद्यार्थीले परीक्षा दिँदै छन्। जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुने पौडेलले बताए।
कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना विद्यार्थी प्राविधिक धारका छन्।
देशभरका २ हजार ६४ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको हो। प्रश्न पत्र ७७ जिल्लाका प्रहरी कार्यालयमा पठाइएको थियो। प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइने पौडेलले बताए।
परीक्षा सञ्चालनका लागि देशभरबाट ७७ हजार बढी जनशक्ति खटिएका छन्। ७७ हजार ४८५ जना जनशक्ति परिचालन भएको पौडेलले बताए।


