गलकोट (बागलुङ)- बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको पाइएको छ। यद्यपि यो वर्ष ४ हजार ३ सय ९९ जना विद्यार्थी सहभागी हुँदैछन्।
आजदेखि हुने एसइई परीक्षामा बागलुङबाट ४ हजार ३ सय ९९ विद्यार्थी सहभागी हुँदैछन्। गत वर्षको तुलनामा यस वर्ष एसइईमा सहभागी हुने विद्यार्थीको सङ्ख्या ४ सय ३७ ले घटेको छ।
३ वर्षयताको तथ्याङ्कलाई हेर्ने हो भने विद्यार्थीको सङ्ख्या बर्सेनि घटेको पाइएको छ। शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका अनुसार २०७८ सालमा ४ हजार ८ सय ९३ जना एसइई परीक्षामा सहभागी भएका थिए। विसं २०७९ मा ४ हजार ८ सय ३६ विद्यार्थी सहभागी भएका थिए। बर्सेनि परीक्षार्थीको सङ्ख्या घट्दै गएको र आगामी वर्ष ४ हजारबाट अझै ओरालो लाग्ने अवस्था देखिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख युक्तप्रसाद सुवेदीलेले बताए।
घट्दो जनसङ्ख्या, वैदेशिक रोजगारी र परिवार नै विदेश बस्नाले बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएको बताए। ‘विद्यार्थीको सङ्ख्या घट्दो पाएका छौँ, आगमी वर्षको दर्ता फाराम विश्लेषण गर्दा विद्यार्थी घट्ने स्पष्ट भएको छ,’ उनले भने।
बागलुङमा यस वर्ष एसइई परीक्षामा ४ हजार ३ सय ९९ विद्यार्थी सहभागी हुँदैछन् भने सोमध्ये ३ जना दृष्टिविहीन, १० जना संस्कृत विद्यालयका र २ सय २९ प्राविधिक विषय, ३४ खुलातर्फका विद्यार्थी रहेका शिक्षा विकास तथा समन्वय एकाइ बागलुङले जनाएको छ।
जिल्लामा ३१ वटा परीक्षा केन्द्र कायम गरिएका छन्। परीक्षा सम्पन्न गर्न ३१ जना केन्द्राध्यक्ष ४ सय ८९ सहायक केन्द्राध्यक्ष, निरीक्षक १ हजार ९ सय २८, परीक्षा सहायक ५ सय २३, कार्यालय सहायक ८ सय ६७ जना र ४ सय ६५ जना सुरक्षाकर्मी परिचालन हुनेछन्।


