काठमाडौं – आज माता तीर्थ औंशी। आजको दिन काठमाडौंको मातातीर्थमा दर्शनार्थीको भीड लाग्ने गरेको छ। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिनमा मनाइने यो पर्वलाई आमाको मुख हेर्ने दिनका रुपमा पनि मनाइँदै आएको छ। यो पर्वमा जन्मदाता आमालाई सम्मान गरिन्छ र आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ देखाइन्छ।
हिन्दू शास्त्रअनुसार आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएको छ। र आमाको सेवा सद्भाव गर्नुपर्छ भनिएको छ। त्यसैले आमावाट आशिर्वाद पाउने दिनका रूपमा यो पर्वलाई लिने गरिएको।

मातातीर्थ औँशीका अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं ६ मातातीर्थमा रहेको आमाको प्रतिमा । मातातीर्थ औँशीमा मातातीर्थ कुण्डमा स्नान गर्ने भक्तजनको घुईँचो लागेको छ। तस्बिर:रासस
आमा हुनेहरुले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।
तर आमा नभएकाहरूले भने आमालाई सम्झिएर पुजा गर्ने, तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गरिन्छ। यो दिन काठमाडौंको मातातीर्थमा पनि दर्शनार्थीको भीड लाग्ने लाग्ने गरेको छ।

सनातन वैदिक शास्त्रका अनुसार सबै मानिसले जीवन आफूलाई गुण लगाउनेहरुको ऋण तिर्नुपर्ने हुन्छ। त्यस्तोमा देवऋण, मनुष्यऋण र पितृऋणलगयात पर्छन्। यसरी मातातीर्थमा मानिसले आमालाई खानोकुरा अर्पण गरेमा सो ऋणबाट मुक्त भइन्छ भन्ने परम्परा पनि रहँदै आएको छ।
त्यसमा पनि सन्तालाई आमाले ९ महिनासम्म गर्भमा राखेको हुनाले आमालाई विशेष रुपमा लिने गरिएको छ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औंसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुशी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ।

बिहीबार परेको माता तीर्थ औँसीका लागि तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित एक मिठाई पसलमा मिठाई खरिद गर्दै सर्वसाधारण। तस्बिर: कृष्ण न्यौपाने/रासस



