डोटी- वनमा लागेको डढेलोमा परी एक महिलाको मृत्यु भएको छ।
बिहीबार दिउँसो जङ्गलमा लागेको आगोमा परी गम्भीर घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको मृत्यु भएको हो।
आगोले पोलेर गम्भीर घाइते भएपछि उनलाई उद्धार गरी उपचारका लागि सुजंग अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि धनगढीको निसर्ग अस्पताल लगिएको थियो। उपचारका क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए।
पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन्। कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो।


