काठमाडौँ- वैशाख १० गते चितवन-२, बारा-२ र तनहुँ-१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मौन अवधि सुरु भएको छ। तीन क्षेत्रमा बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो। मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान सकिएर केन्द्र बन्द नहुञ्जेलसम्मका लागि मौन अवधि मानिन्छ।
मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारका पक्ष वा विपक्षमा कुनै प्रकारका प्रचारप्रसार गर्न, मत माग्न पाइँदैन।
यसैबीच त्रिभुवन विश्वविद्यालयले वैशाख १० मा परेको ६ दिन पर सारेको छ। स्नातक तह प्रथम वर्षको वैशाख १० गतेका लागि तोकिएको परीक्षा वैशाख १६ गतेका लागि सारिएको हो।
वैशाख १० गते बिहान ७ बजे व्यवस्थापन संकाय र दिउँसो १२ बजे मानविकी संकायका विभिन्न विषयका परीक्षा सञ्चालन गर्ने कार्यतालिका तोकिएको थियो।

