काठमाडौँ– सञ्जय मेमोरियल फाउन्डेसनले पाल्पामा यही वैसाखको २८ देखि ३० गतेसम्म राष्ट्रिय भलिबल आयोजना हुने भएको छ। आयोजकले आज बैसाख ८ गते पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी दिएको हो।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एक अयोजक टिम रहने आयोजकले जानकारी दिएको छ। ‘प्रतियोगिता लिग कम नकआउटको आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई विभिन्न समूहमा विभाजन गरेर खेलाइनेछ,’ आयोजले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।
फाउन्डेसनका उपाध्यक्ष धिरेन शाक्यले गएको वर्ष महिलाको प्रतियोगिता सुरु गरेर प्रतियोगिता आयोजना गरेको पनि बताएका छन्। ‘सञ्जय मेरो साथी हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँ रहनु भएन र उहाँको नामबाट हामी विभिन्न कार्यक्रम गर्दै आइरहेका छौं। हामीले भलिबल र रानीमहलको समान रुपमा प्रवर्द्धन गर्ने हिसाबले यो प्रतियोगिता आयोजना गर्न लागेको हो।’
यो प्रतियोगिताको उपाधि जित्ने टिमले एक लाख ५० हजार, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः एक लाख, ५० हजार र २५ हजार पुरस्कार पाउनेछ। खेलाडीको बीमासमेत गरिने आयोजकले जानकारी दिएको छ।
‘अर्को वर्ष रानीमहल क्षेत्रमा नै अन्तर्राष्ट्रिय स्तरको बीच भलिबल प्रतियोगिता अयोजना गर्ने हाम्रो लक्ष्य रहेको छ,’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘गत वर्ष प्रतियोगिता सम्पन्न गर्ने ३० लाख खर्च भएको आयोजकले जानकारी दिएको छ।’
प्रतियोगिताले स्थानीय स्तरमा नयाँ सम्भावनाको बहस ल्याउन सुरु गरेको आयोजकले दाबी गरेको छ।


