मुगु- रारा राष्ट्रिय निकुञ्ज क्षेत्रका भौतिक संरचना हटाउने तयारी भइरहेका बेला राराताल नजिकै होमस्टे तथा रिसोर्ट व्यवसाय बढ्न थालेको छ। निकुञ्जभित्रको नेपाली सेनाको ब्यारेक, निकुञ्ज कार्यालय र डाँफे गेस्ट हाउस हटाउने प्रक्रिया निकुञ्ज प्रशासनले गरेको छ।
निकुञ्जका वार्डेन विश्वबहादुर श्रेष्ठका अनुसार निकुञ्जको कोर क्षेत्रमा रहेका सबै भौतिक संरचना सार्ने तयारी सुरु भइसकेको छ। ‘ताल वरिपरि अब कुनै भौतिक संरचना रहँदैनन् सबै सर्छन्,’ वार्डेन श्रेष्ठले भने, ‘ताल नजिक रहेको गेष्ट हाउस पनि अब रहन्न।’ वार्डेन श्रेष्ठका अनुसार पछिल्लो समय एकै दिन तीन सय जनासम्म पर्यटक ताल क्षेत्रमा पुग्न थालेका छन्।
रारा घुम्न जाने पर्यटकको संख्या बढेसँगै खानेबस्ने प्रबन्ध अपर्याप्त छ। पर्यटक ताल क्षेत्रमा पुगेर भ्याए बोटिङसम्म गर्ने, नभ्याए तालमा पुगेको तस्बिर खिचेर फर्किहाल्ने गरेका छन्।

रारा ताल।
वार्डेन श्रेष्ठले निकुञ्जको कोर क्षेत्रमा कुनै भौतिक संरचना नरहे पनि त्यसको विकल्पमा बफर जोन क्षेत्रमा होमस्टे बढेको बताउँछन्। ‘तालबाट देब्रेतिर बफरजोन छ। त्यहाँ पर्यटकको आर्थिक योजना अनुसारका रिसोर्ट र होमस्टे छन्,’ श्रेष्ठले भने, ‘तर धेरैलाई यो थाहा नहुँदा रारामै बस्ने योजनासहित आउने पर्यटकको संख्या कम छ।’
बफर जोन छायानाथ रारा गाउँपालिका-९ पर्दछ। वडाध्यक्ष बिर्खबहादुर रोकाया रारा आउने नै हो भने दुई तीन दिनको योजना बनाएर आउन सुझाव दिन्छन्।
‘रारा ताल नजिकैबाट जति सुन्दर देखिन्छ मुर्माकोटबाट त्यो भन्दा सुन्दर देखिन्छ,’ रोकायाले भने, ‘जसलाई मुर्माकोट थाहा छ उहाँहरू आउनुहुन्छ। धेरै जना त तालको फोटो खिचेर फर्किहाल्नुहुन्छ।’
रोकायाका अनुसार अहिले नै आधा दर्जन बढी रिसोर्ट र होमस्टे सञ्चालनमा छन्। मुर्माकोट क्षेत्रमा यस अगाडि नै रारा इको रिसोर्ट, रारा कल्चरल होमस्टे लगायत सञ्चालनमा छन्। सो क्षेत्रको अधिकांश स्थानीयको जमिन व्यवसायीहरुले किनिसकेको र पर्यटन क्षेत्रमा कहलिएमा व्यवसायीसमेत आएर रिसोर्ट खोल्ने तयारीमा रहेको रोकायाले बताए।
यसै साता पाँच करोड लगानीको रारा भिलेज रिसोर्ट सञ्चालनमा आएको छ। रारा ताल, छायानाथ हिमाल क्षेत्र प्रस्ट देख्न सकिने स्थानमा खुलेको रिसोर्ट पूर्ण हुन २५ करोड लाग्ने रारा भिलेज रिसोर्ट प्रालिका अध्यक्ष अनुपविक्रम शाहले बताए।
‘रारामा बस्नै पाइँदैन, चाहेजस्तो खानै पाइँदैन भन्ने सन्देश फैलिएको छ,’ शाहले भने, ‘अब रारा आउँदा खाने बस्ने चिन्ता नलिए हुन्छ। रारामा आउँदा तालमा फोटो खिचेर फर्किहाल्नु पर्दैन। हामीसँगै एकै दिन ५० पर्यटकलाई राख्नसक्ने क्षमता छ। हामी जस्तै अन्य होमस्टे पनि छन्। ढुक्क भएर रारा आए हुन्छ।’

राराताल क्षेत्रको नक्सा।
आन्तरिक र बाह्य पर्यटकको बसाई लम्ब्याउने योजमासहितै आफूहरु जोखिम लिएर लगानी गर्न आएको उनले बताए। ‘रारा क्षेत्रको सम्पत्ति भनेको प्रकृति हो। रिसोर्ट, होटल जे बने पनि आँखामा नबिझ्ने गरि बनाउनै पर्छ,’ उनले भने, ‘आन्तरिक पर्यटक लक्षित मुल्यसहितको सुविधा दिन सके रारा आउने धेरैको सपना पूरा गर्न सकिन्छ। त्यसैका लागि २० रोपनी क्षेत्रफलमा परम्परागत बस्तीकै शैलीमा रिसोर्ट बनाएर क्षमता बढाउछौँ।’
ताल क्षेत्रबाट पैदल करिब तीन घण्टामा मुर्माकोट पुग्न सकिन्छ। जहाँबाट राराको सबै क्षेत्रसहितको शुन्दर दृष्यसँगै छयानाथसहितका हिमाली दृश्य हेर्न सकिन्छ। तालको देब्रेतिर करिब आधा घन्टा तेर्सो हिँडेपछि मुर्मा क्षेत्र आइपुग्छ। अनी दुई घन्टा उकालो चढेपछि मुर्माकोट पुगिन्छ।
हिँड्न सक्नेका लागि लोठसल्लाको जंगल हुँदै जान रमाइलो छ। हिँड्न नसक्नेका लागि घोडा उपलब्ध छन्।

मुर्माकोटबाट देखिएको रारा र छायाँनाथ हिमाल।

रारा ताल।

मुर्माकोट।


