काठमाडाैँ- पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा वृद्ध दम्पती मृत भेटिएको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली घटनास्थलमा आइपुगेको छ ।
स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र अन्दाजी ६७ वर्षीया श्रीमती कमला जिसी मंगलबार घरमै मृत अवस्थामा भेटिएका थिए । उनीहरुको हत्या भएको प्रारम्भिक अनुमानपछि प्रदेशवाट विज्ञ टोली बोलाइएको पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । जिसी दम्पतिको सोमबार राति अपरिचित व्यक्तिले हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।
‘गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुुकुरसहितको विज्ञ टोली घटनास्थलमा आइपुगेको हो,’ प्रहरी नायब उपरीक्षक भुसालले भने, ‘घटनास्थल प्रहरीको नियन्त्रणमा छ ।’ घटना रहस्यमय देखिएकाले अनुसन्धान गर्न विशेषज्ञको टोली बोलाइएको उनले बताए ।
मृतक जिसी दम्पतिका दुई छोरा वैदेशिक रोजगारीको क्रममा कोरियामा छन् । एक छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका छन् । बेनीबजार पसल गरेर बस्ने जेठो छोरा रवीन जिसीले घरमा बुबा आमालाई फोन गर्दा नउठेपछि छिमेकीलाई बुझ्न लगाएका थिए । छिमेकीले घरको ढोकामा चाँबी लगाएको सुनाएपछि छोरा रबिन बेनीबाट गाउँ पुगेर घरको ढोका खोल्दा बुबा आमा मृत अवस्थामा भेटिएका थिए ।
जलजला गाउँपालिका–२ का वडाध्यक्ष प्रकाश जिसीले घरमा जिसी दम्पति मात्र बस्ने गरेको जानकारी दिए ।


