पर्वत- पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ वर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया कमला जिसीका हत्या भएको छ।
हत्याबाट मृत्यु भएका जिसी दम्पतीको परिवारलाई आज कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले भेटघाट गरेका छन्। पीडित परिवारको घर जलजला २ दहमा पुगेका गिरीले परिवारका सदस्यहरूलाई भेट गरेका हुन्।
हत्या भएको २ दिनसम्म पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन्। परिवारसँगको भेटमा कानुन मन्त्री गिरीले हत्यारा छिट्टै पक्राउ पर्ने बताए। उनले हत्या जस्तो जघन्य अपराधमा संलग्न जो सुकैलाई पनि सरकारले नछाड्ने भन्दै परिवारले न्याय जसरी पाउने आश्वासन दिए।
घरमा बसिरहेका जिसी दम्पतीको रातीको समयमा हत्या भएको थियो। बिहान छिमेकीले मृत अवस्थामा फेला पारेका दम्पती एक्लो घरमा बस्दै आइरहेका थिए। हत्याको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। पीडित परिवारले न्याय पाउने गरी सुरक्षा निकायका सबै निकायबाट अनुसन्धानलाई प्रभावकारी बनाउन आफूले निर्देशन दिइसकेको मन्त्री गिरीले परिवारलाई बताएका छन्।
मन्त्री गिरीले अपराधीलाई कारबाही नगरे देशमा यस्ता आपराधिक घटना अझै बढ्ने भन्दै छिट्टै अपराधीलाई सार्वजनिक गर्न सूक्ष्म अनुसन्धान भइरहेको बताए।
हत्यारालाई खोज्नका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर समेतबाट समेत प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरी नायब उपरीक्षक खुमलाल भुषालले अनुसन्धान भइरहेको र अभियुक्त छिट्टै पत्ता लाग्ने बताए।


