विराटनगर- सुनसरीको भुटाहामा प्रहरीले गोली चलाएको छ।
हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो।
बिहीबार एसइईको परीक्षा हुँदै गर्दा हरिहर गाउँपालिका-१ स्थित बालकृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीमाथि कुटपिट भएको थियो।
उक्त झगडाका दुई पक्षबीच विवाद भएको थियो। पछि दुवै पक्षले आक्राामक बनेपछि भिड नियन्त्रणमा लिनका लागि प्रहरीले ११ राउण्ड अश्रुग्यास पनि प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ।
झडपमा परी दुवै पक्षका चार जना सामान्य घाइते भएका छन्।
उनीहरूलाई उपचारका लागि विराटनगर ल्याइएको छ।
विवाद बढ्ने देखिएपछि सुनसरी प्रशासनले दुई गाउँपालिका निषेध आदेश जारी गरेको छ।
सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले शुक्रबार मध्याह्न १२ बजेदेखि लागु हुने गरी अनिश्चितकालीन निषेध आदेश जारी गरेका हुन्।
‘झगडाले बृहत रूप लिनसक्ने सम्भावना देखिएपछि निषेधाज्ञा जारी गरिएको हो,’ उनले भने।

