काठमाडौँ- जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित ‘आमाको माया’ छात्रावासले १४औँ वार्षिकोत्सव मनाएको छ।
सो अवसरमा आज आयोजित कार्यक्रममा राष्ट्रिय महासचिव प्रेम थुलुङले आश्रमले समाजका आर्थिक रूपले विपन्न बालबालिकालाई शिक्षा तथा स्वास्थ्यको पहुँचमा राखेर देशका विभिन्न ११ स्थानमा छात्रावास सञ्चालनमा रहेको बताए। आश्रमले निःशुल्क शिक्षा, आवास, भोजनआदिको व्यवस्था गरेको छ।
उनले भने, ‘चारजना विद्यार्थीबाट सुरु गरेको छात्रावास आज हामी ११ जिल्लामा बिस्तार भएको छ। छात्रावासमा विद्यार्थी सङ्ख्या बढाएर यस शैक्षिकसत्रमा पाँच सय पुर्याउने लक्ष्य छ।’
छात्रावासबाहेक कल्याण आश्रमका झापा, मोरङ, तथा चितवनका ग्रामीण भेगमा ८५ वटा जनजाति शिक्षा संस्कार केन्द्र सञ्चालित रहेको उनले बताए। उनले दैनिक दुई हजारभन्दा बढी बालबालिकाले लाभ लिएरहेको बताए।
त्यस अवसरमा रामायण हिन्दी टेलिशृङ्खलामा माता सीताको अभिनय गर्ने अभिनेत्री दीपिका चिखलियाको समेत उपस्थिति थिइन्।

चर्चित भारतीय धारावाहिक श्रृंखला ‘रामायण’मा सीता माताको भूमिका निर्वाह नगेकी अभिनेत्री दीपिका चिखलियाले रामायण नीति कथाबाट धेरै कुराको ज्ञान लिन सकिने बताइन्।
उनले भनिन्, ‘रामायणबाट धेरै कुरा जान्न सकिन्छ। सिक्न सकिन्छ। रामजीको चरित्रबाट भगवान राम आदर्श र असल पुत्र भएको जानकारी कथा रामायणले दिएको छ। उहाँ एक असल पुत्र, असल भाई र असल श्रीमान हुनुहुन्थ्यो भन्ने कुरा रामायणले सिकाएको छ।’
सो कार्यक्रममा आश्रमका बालबालिकाले नृत्य र गीत प्रस्तुत गरेका थिए।


