नैनीताल- भारतको नैनीताल क्षेत्रमा सवारी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ।
नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा गाडी खस्दा उनीहरूको मृत्यु भएको भारतीय समाचार संस्था हिन्दूस्तान टाइम्सले समाचार प्रकाशन गरेको छ।
सोमबार राती साढे १० बजे दुर्घटना भएको हो। भारतीय चालक राजेन्द्र कुमारले चलाएको सवारी २०० मिटरमुनि खसेको थियो।
मृत्यु भएका नेपालीहरूमा ५० वर्षका विश्व राम, ४५ वर्षका धिरज, ४० वर्षका अनन्तराम चौधरी, ३८ वर्षका विनोद चौधरी, ५५ वर्षका उदयराम चौधरी, ४५ वर्षका तिलकराज चौधरी, ६० वर्षका गोपाल रहेको हिन्दूस्तान टाइम्सले उल्लेख गरेको छ।
दुर्घटनामा दुई नेपालीहरू शान्ति चौधरी र छोटु चौधरी घाइते भएका छन् ।
मृत्यु भएका र घाइते भएका नेपालीहरूको नेपाली ठेगाना खुल्न बाँकी छ।
दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै नेपालीहरू भारतको जलजीवन परियोजनामा काम गर्ने मजदुर भएको बताइएको छ।


