काठमाडौँ- प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ।
यसअघि १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरेर बुधबारसम्मका लागि स्थगित गरिएको हो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकमा अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको थियो। बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ।
बैठक स्थगित गरेर सभामुख देवराज घिमिरेले नेपाली कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका नेताहरूसँग छलफल गरेका थिए।
गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने मागबाट कांग्रेस पछि नहटेपछि सभामुखले गरेका छलफल निष्कर्षमा पुग्न सकेका छैनन्।
मंगलबार बैठक सुरु हुने बित्तिकै नेपाली कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका थिए।
यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसकी सुशीला थिङलाई बोल्न समय दिएका थिए।
उनले नेपाली कांग्रेस संसदीय दलले गरेको निर्णय सुनाउँदै गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरेकी थिइन्।
तर कांग्रेसका मागलाई सरकारले वास्ता नगरे त्यसबाट आइपर्ने अवस्थाको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी दिएकी थिइन्।
थिङपछि रास्वपाका सांसद मनिष झालाई बोल्नका लागि सभामुखले समय दिएका थिए। तर कांग्रेस सांसदहरू उभिएको उभिएकै गरेर विरोध गरिरहे।
सभामुख घिमिरेले बारम्बार सांसदलाई दायित्व सम्झाउँदै बस्नका लागि आग्रह गरिरहे। तर कांग्रेस सांसदहरू बसेनन्। अन्तमा घिमिले १:१५ बजे १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। सूचना टाँस गरेर बुधबार ११ बजेका लागि बैठक बोलाइएको छ।


