काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्ने गरी व्यवस्था गर्नका लागि प्राथमिकता दिएको बताउँदै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्ने, सेवालाई पूर्णतया निःशुल्क बनाउने र सबैको समान पहुँच र हिस्सेदारी कायम गर्ने व्यवस्थालाई प्राथमिकता दिएको छ,’ उनले भने, ‘संविधानको यो व्यवस्थाको कार्यान्वयन गर्न सरकारले गम्भीर भएर सोच्नुपर्छ।’
बदलिFदो परिवेशअनुसार नसर्ने रोग, जलवायु परिर्वतन, सङ्क्रामक रोग इत्यादि मुद्दाहरूलाई विशेष प्राथमिकतामा राखी अध्ययन अनुसन्धानका कार्यलाई आगामी दिनमा अझै सक्रिय भएर अगाडि बढ्नुपर्ने उनले बताए।
स्वास्थ्य वैज्ञानिकहरूलाई स्वास्थ्यमा सर्वव्यापी पहुँच सुनिश्चित गर्न, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबलम्बन गर्ने नीति तथा रणनीतिहरूलाई सघाउन तथ्यमा आधारित प्रमाणहरू जुटाउने कार्यमा तदारुकताका साथ लागिरहने विश्वास पनि व्यक्त गरे।
