काठमाडौँ- इस्लाम धर्मावलम्बीको चाड ‘इदुलफित्र’ शनिबार मनाइँदैछ। एक महिनासम्म व्रत (रोजा) बसेका मुस्लिम समुदायका व्यक्तिले आज समापन गरी यो चाड मनाउने गर्छन्। रमादान महिनाका रूपमा चिनिने रोजामा सूर्य उदय र अस्तबीचको सममा कुनै पनि खानेकुरा खान नहुने विश्वास मुस्लिम समुदायमा छ।
हिजरी क्यालेन्डर अनुसार रमादान महिना नवौँ महिना हो। रमादानमा कुरान अवतरण भएको विश्वास गरिन्छ। इदुलफित्र मनाउन आज मुसलमान मस्जिदमा भेला भएर सामूहिक रूपमा नमाज पढ्ने गर्छन्।
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम समुदायको इद (इदुलफित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन्। यो पर्व सांस्कृतिक विविधताको परिचायक बनेको समेत उल्लेख गरेका छन्।
पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन र विकासका साथै राष्ट्रिय सद्भाव र एकता प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। कार्यवाहक राष्ट्रपति यादवलेट राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ भई सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्न थप प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूलाई सुख, शान्ति, सुस्वास्थ्य तथा दीघार्युको कामना गरेका छन्। ईद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने पनि प्रधानमन्त्री प्रचण्डको विश्वास छ।
