काठमाडौँ- गुल्मीमा डढेलो निभाउन गएका एक पुरुषको मृत्यु भएको छ।
निभाउने क्रममा लडेका मुसिकोट नगरपालिका-१ का ५८ वर्षीय महले घर्तीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सोही वडाको तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको डढेलो निभाउन घर्तीसहितको समूह गएको थियो।
सोमबार बिहान साढे ११ बजेतिर लागेको डढेलो निभाउन गएका घर्ती आफूतर्फ आगोको ठूलो मुस्लो आएपछि भाग्दा लडेका थिए।
लडेर १५० मिटर तल खसी घाइते भएका घर्तीलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल तम्घास पुर्याइएको थियो।
चिकित्सकले साढे २ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।
घर्तीसँगै सल्लाघारीबाट लडेका स्थानीय ५२ वर्षीय रेसम थापा घाइते छन्।
थापाको तम्घास अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।
